अध्यक्ष प्रचण्ड भन्छन्, ‘प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैन’



साझा पथ संवाददाता

काठमाडौं २८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आइतबार चितवनमा सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए । पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उनले आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए ।

वर्षात्मा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकासनिर्माणको काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो । अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्