बाढीपहिरो प्रभावित परिवारलाई नुवाकोट रेडक्रसद्वारा राहत तथा शैक्षिक सामग्री वितरण
नुवाकोट,कात्तिक २४ । गत भदौ १० गते ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नुवाकोटका परिवारलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटले राहत तथा सहायता सामग्री वितरण गरेको छ ।
बाढीबाट प्रभावित तारकेश्वर गाउँपालिका–२ र ४ का २ हजार २६५ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको हो । राहत सामग्री प्राप्त भएपछि बाढीपहिरो पीडित परिवारलाई दैनिक जीवनयापनमा सहजता पुगेको छ ।
त्यस्तै, लिखु गाउँपालिका–३ मा पहिरोबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बसिरहेका आठ घरपरिवारलाई खाद्य, गैरखाद्य तथा सरसफाइ सामग्री प्रदान गरिएको छ ।
पहिरोका कारण विस्थापित भएका परिवारलाई दैनिक जीवनयापनमा सहजता पुर्याउने उद्देश्यले सहायता सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।
यसैगरी, त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो क्षति व्यहोरेको विदुर नगरपालिका–७ का प्रभावित विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरिएको छ । बाढीका कारण कतिपय परिवार घरबारविहीन हुनुका साथै धेरैले आफ्ना अभिभावकसमेत गुमाएका छन् ।
प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले स्टेशनरी सामग्री सहयोग गरिएको हो । राहत तथा शैक्षिक सामग्री वितरणले बाढीपहिरोबाट प्रभावित परिवार र विद्यार्थीलाई केही राहत पुगेको छ ।

