सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग



साझा पथ संवाददाता
चौतारा २८ असार । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले जिल्लाकै दुई पालिकाकामा असार २४ गते आएको बाढीपहिरो पीडितका लागि भन्दै ५ लाख सहयोग गरेको छ ।

अविरल वर्षापछि बाह्रबिसे नगरपालिकाका र भोटेकोसी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुखद् घडीमा पीडितहरुलाई केही राहत मिलोस् भन्ने हेतुले सहयोग गर्ने निर्णय भएको साँगाचोकगढी नगरपालिकाको सचिवालय संयोजक रोहित शर्माले साझा पथलाई जानकारी दिए । उनका अनुसार साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोसी गाउँपालिकालाई २ लाख र बाह्रबिसे नगरपालिकालाई ३ लाख रुपैयाँ दिइएको हो ।

यसैबीच, चौतारा साँगाचोकगढी नगरपालिकाको आठौं नगर सभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ५ करोड २३ लाख ८९ हजारको रुपैयाँको बजेट पारित गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यमा नगरसभाले २ करोड ६० लाख विनियोजन गरेको छ ।

नगर सभाले प्रत्येक वडाको लागि ७५ लाखसँगै कृषि, नगर गौरवको योजना, शिक्षा, लक्षित वर्ग, पशु विकास, रोजगार, युवा तथा खेलकुद, खानेपानी, पर्यटन, लघु उद्यम, सडक, सहकारी, न्यायिक समितिकालागि पनि बजेट विनियोजन गरेको छ । नगरसभामा बजेट उपमेयर जानुका पराजुलीले प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्