तनहुँ पहिरो अपडेट : पुरिएका १० जनाको शव भेटियो



साझापथ संवाददाता

काठमाडौं २९ असार । तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका १० जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव सोमबार भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । रात परेकाले बेपत्ता भएकाहरुको खोजी कार्यलाई आजलाई स्थगित गरिएको र मङ्गलबारबाट पुनः खोजी कार्य तीव्र पारिने पौडेलले बताए ।

………………………………………………..

काठमाडौं २९ असार । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर सोमबार तनहुँमा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिराले पुरिएर व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उहाँका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ । ऋषिङ–८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ–८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस्