पञ्‍चकन्या गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण



साझा पथ संवाददाता

घलेभन्ज्याङ , असार २९ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकालाई आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रम कविलासले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको अस्थायी कार्यालय घलेभन्ज्याङमा सोमबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । एम्बुलेन्सको चाबी गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई स्वास्थ्य सेवा विकास कार्यक्रमका उपाध्यक्ष राजकुमार शाहीले हस्तान्तरण गरे ।

उपाध्यक्ष शाहीले कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको बेला संक्रमित र अन्य बिरामीलाई अस्पताल पुर्‍याउन सहज होस् भन्दै आफ्नो संस्थाले स्थानीयका लागि सञ्चालन गर्दै आएको एम्बुलेन्स सदाका लागि गाउँपालिकालाई हस्तान्तरण गरेको बताए ।

उक्त एम्बुलेन्स स्थानीयवासी गम्भीर बिरामी पर्दा जिल्ला सदरमुकाम वा काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि देश विदेशबाट सहयोग उठाएर किनेको हो । उपाध्यक्ष शाहीका अनुसार २०७० मा सामाजिक सञ्जालबाट अपिल गर्दा नेपाल र विदेशमा रहेका ४२ व्यक्तिले एम्बुलेन्स खदिरका लागि सहयोग गरेका थिए । ९ लाख ८० हजार रुपैयाँमा खरिद गरिएको एम्बुलेन्स डेकोरेसन र इन्सुरेन्स गर्दा ११ लाख रुपैयाँ खर्च भएको उनले जानकारी गराए ।

उपाध्यक्ष शाहीले स्वदेश, विदेशका नागरिकको पसिनाबाट किनिएकोले उचित संरक्षणका साथ एम्बुलेन्स सञ्चालनका लागि अनुरोध गरे । नि: स्वार्थ भावानाले एम्बुलेन्स हस्तान्तरण गरेको उनको धारणा थियो ।

गाउँपालिका अध्यक्ष तामाङले एम्बुलेन्स हस्तान्तरण गरेकोमा आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रम संस्थाका अध्यक्ष, उपाध्यक्ष लगायतलाई धन्यवाद दिएका थिए । उनले कोरोना महामारीको बेला गाउँपालिकालाई ठूलो सहयोग प्राप्त भएको बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष सीता खड्का पराजुली, प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, वडाध्यक्षहरु, स्वास्थ्यसँग सम्बन्धित अधिकारी र संस्थाका अन्य पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता थियो ।

पञ्चकन्या गाउँपालिकामा शनिबार १ जनामा कोरोना पुष्टि भएको छ भने नुवाकोटभरी संक्रमितको संख्या ३० पुगेको छ ।

सम्बन्धित भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्