वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन



साझापथ संवाददाता

हेटौंडा,असार ३० । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा एमालेका सल्लाहकारसमेत रहनुभएकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा एमालेको सेल्टरदाताका रूपमा चर्चित हुनुहुन्थ्यो ।

लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो । मकवानपुरको कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी निवासी हुनुहुन्थ्यो ।

उहाँले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गर्नुभएको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने बताउनुहुन्छ । अहिले थापालाई श्रद्धाञ्जलि दिन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेकपाका नेताहरूको निवासमा उपस्थिति छ । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेकपाको वर्तमान स्वरुप निर्माणमा थापाको योगदान अविस्मरणीय

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आज विज्ञप्ति जारी गरी थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उहाँले पुर्याउनुभएको योगदानको चिरकालसम्म स्मरण रहिरहने बताउनुभएको छ । ‘उहाँको निधनले मकवानपुरे कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ । उहाँको सङ्घर्ष, त्याग र समर्पण आगामी पुस्ताका लागि प्रेरणादायी छ । पार्टीकाा थुप्रै क्रियाकलाप तथा जनवर्गीय सङ्गठनको निर्माणमा उहाँको ठूलो योगदान रहेको छ । यस दुःखद् क्षणमा आदरणीय थापाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु', पौडेलद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ । थापाले आफ्नो घरलाई २०३५ सालदेखि प्रजातन्त्रको स्थापनासम्म पार्टीको गतिविधि सञ्चालन गर्ने सुरक्षित सेल्टरका रुपमा प्रयोग गर्नुभएको थियो । तत्कालीन समयमा नेकपा मालेका केन्द्रीय नेताहरु उहाँको घरमा सेल्टर लिनुहुन्थ्यो । भूमिगत समयमा उहाँका घरमा भएको पार्टीको बैठकबाट आन्दोलनको रणनीति बन्थे, महत्वपूर्ण निर्णय हुन्थ्यो । अनेमसङ्घको स्थापना उहाँकै घरमा भएको जनाइएको छ । थापाको सोमबार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्