प्रधानमन्त्रीको स्वीस बैंकमा खाताबारे समाचार भ्रामक : सचिवालय [प्रेस नोटसहित]



काठमाडौं ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न झुटो समाचार सम्प्रेषण गरेको जनाएका हुन् । तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमको रवैया खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनुभएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आम नेपालीलाई त्यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न आह्वान गर्दै सम्बन्धित निकायले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थामाथि कडा कारवाहीको पनि माग गरिएको छ ।

………………

प्रेस नाेट
“ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७

प्रतिक्रिया दिनुहोस्