सिन्धुपाल्चोकमा अर्को विपत्, फुल्पिङकट्टीमा पहिरोले २ घर बगायो, ५ जना बेपत्ता



साझा पथ संवाददाता

सिन्धुपाल्चोक १ साउन । अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने ५ जना बेपत्ता भएका छन् । बुधबार राति १:३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोसी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।

पहिरोमा परी दुई घरका ५ जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । उनका अनुसार पहिरोमा बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्‍याएको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलतर्फ प्रहरी टोली खटिएको छ ।

असार २३ गते राति भोटेकोसी नदीमा आएको बाढीले बगाउँदा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका दुई जनाको मृत्यु भएको थियो भने । भारी वर्षासँगै उर्लिएका काभ्रे र एल्मो ठाडो खोलाको भेल मिसिएपछि भोटेकोसीले ३६ वटा घर बगाएको छ । घटनामा २० जना बेपत्ता अझै बेपत्ता छन् । ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्