साझा बसमा जो पनि चढ्दछ…



साझा पथ संवाददाता

काठमाडौं १ साउन । सुरक्षा सावधानी अपनाएर साझा यातायातले बिहीबारबाट काठमाडौं उपत्यकामा सेवा सुरु गरेको छ ।

साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका ८ वटा रुटमा सेवा दिन सुरु गरेका हुन् ।

साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयका अनुसार लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चलिरहेका छन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ ।

यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ । साझाका चालक र सहचालकले मास्क, पन्जा र फेस सिल्ड लगाएका छन् । बसमा चढ्नु अगाडि उनीहरुले यात्रुहरुलाई स्यानिटाइजर प्रयोग गर्न दिन्छन् । साथै यात्रुको सेवामा निस्किनुअघि र यात्रुहरु बसेको सिटलगायतका स्थानमा स्यानिटाइज गरिन्छ ।

कोभिड १९ को जोखिम न्यूनिकरणका लागि सरकारले गत चैत ११ देखि लकडाउन जारी गरेपछि यातायात ठप्प थियो । अन्य सार्वजनिक सवारी पनि उपत्यकाका तिनै जिल्ला र बाहिरका जिल्लाभित्रमात्रै चलाउने गरी सरकारले खुला गरिसकेको छ । असार २३ गतेको निर्णय भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतले भने सवारी चलाउन सरकारसँगै सर्त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्