हरियो डाँडामाथि हलो जोत्‍ने साथी…



ओम भण्डारी
गायनमा, लेखनमा, अध्ययनमा र खोज अनुसन्धान/संकलनमा जाँगर चाहिए जनकविकेशरी धर्मराज थापालाई पढ्नु पर्छ । साउन १ गते उहाँको ९६ औं जन्मजयन्ती हो ।

विक्रम संवत १९८१ साल साउने संक्रातिको दिन पोखराको बाटुलेचौरमा सामान्य किसान परिवारमा जन्मिएका धर्मराजले नेपाली लोकसाहित्य र गायनमा असामान्य योगदान दिनुभयो । कला र संस्कृतिको उर्वरभूमिकै कारणले हो या उहाँको भित्री स्वभाव नै त्यस्तै भएर हो बच्चैदेखि गायन, बादन, लेखन र नाच्न भनेपछि मरिहत्ते गर्ने बानीले होला युवा बयमै तत्कालीन सरकारले उहाँलाई संस्कृतिको ठुल्ठूला जिम्मेवारीहरु दियो ।

गीत खोज्न, रीतिथिती, बाजा, नाच र चाडबाड खोज्न धर्मराज थापा नेपालका बस्ती-बस्ती चाहर्थे । उसो त, भारतमा बस्ने नेपालीका घर-घर र कोठा-कोठा बाजा र गीत बोकेर पुग्ने थापालाई अझै पनी आसाम, मेघालय, सिक्किम, दार्जलिङ्ग, कालिम्पोङ र मणिपुरका घर, गोठ र कटेराले बिर्सेका छैनन्, देहरादुन र भाक्सु नाघेर बर्मेली नेपाली भेट्न बर्माका पाखा पुग्ने धर्मराजले जहाँ-जहाँ पुगे त्यहींका लोकलहरी घन्काए ।

विक्रम संवत २०१३ सालमा नेपालभरीका लोकनाच जम्मा गरी एक्कै मन्चबाट देखाउने आँट गरेर सफल हुँदा तत्कालीन कला, संगीत र संस्कृतिप्रिय राजा महेन्द्रले गायक र कवि धर्मराज थापालाई कार्यक्रमकै मन्चमा ‘जनकविकेशरी’को गरिमामय पदवीले सम्मान गरेका थिए ।

गीत लेखेको र गायनको भरमा जेल बस्ने गायक पनि हुन् जनकविकेशरी । तत्कालीन सरकार प्रमुख, जनप्रिय निडर नेता डा. के.आइ. सिंहले गरेका जनपक्षीय काम जनविरोधीलाई अपाच्य हुँदा के. आइ . सिंहलाई अपदस्त गरी जेल हालियो तर हिम्मतिला सिंह आफ्ना सहयोगीसहित जेलै तोडेर निस्किए तर ज्यानको खतरा बढ्दै जाँदा सिंह भागे, त्यही कुरालाई धर्मराजले गीत बनाएर चोक-चोकमा गाए “हे वीरबहादुर केआइसिंह कहाँ गयौ जेलखाना तोडेर…हामीलाई छोडेर ” (शब्द केही फरक हुनसक्छ), तत्कालीन राज्यलाई असह्य भएपछि धर्मराज थापालाई केही महिना जेल हालियो र सो गीत प्रतिबन्धित भयो यो कुरा वि.सं. २००८ साल तिरको हो ।

झन्डै तीन दर्जनभन्दा धेरै लोकसाहित्य र गीतका पुस्तक प्रकाशित गर्नुहुने जनकविकेशरीले ‘मङ्गली कुसुम’ नामक ग्रन्थको लागि पद्य विधामा २०२५ को मदन पुरस्कार लगायत विभिन्न समयमा आफ्ना अनगिन्ती कृतिका कारण अनगिन्ती पुरस्कार पाउनुभएको छ । आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत वि.सं. २०५७ सालमा जगदम्बाश्री पुरस्कारसमेत पाउनुहुने धर्मराज थापाले आफ्नो भौतिक जीवनचोलाभरी गाएर र लेखेर बिताए । लेखेर, गाएर, बजाएर र हिँडेर कहिल्यै नथाक्ने, संधै हँसिलो, रसिलो र जाँगरिलो देखिनुहुने थापालाई ८० वर्षको उमेरमा २०६१ सालमा उहाँकै नाममा नामाकरण भएको स्वयम्भूस्थित जनकविकेशरी मार्गको केशरी निवासमा भेट्दा ती सबैको गतिलो प्रमाण स्पस्ट थियो कि आफ्ना सम्मान-पत्र, कदर-पत्र, आफ्नै पुस्तक र पाण्डुलिपीको संग्राहालय बीचमा एउटा हँसिलो कलाकार लेख्न र गाउन व्यस्तै हुनुहुन्थ्यो उसो त’ उसै समयतिर रेडियोमा लाइभ संवादमा गाएका उहाँका कोइली स्वर ताजै र आजै जस्तो लाग्दछ उहाँको नातीपुस्ताको म साधारणसँग साथी झैं मिजासिलो व्यवहार गर्नुहुने उहाँका साथमा दिनभरी गफ़िएको अहिले आँखै अघि छ ,जत्ति छोटो भेटघाट भो उत्ति मिठो माया ।

हरियो डाँडामाथि हलो जोत्ने साथी….लगायत उहाँका स्वरका झन्डै २ दर्जन गीतहरु हामी नेपाली स्रोतामाझ लोकप्रिय छन्, उहाँले नेपाली भाषा, लोकसाहित्य र लोकगीतमा लगाउनुभएको अतुलनीय योगदान हामी नेपालीले जुगजुगान्तर सम्झिरहनेछौँ । हाम्रा जनकविकेशरीको भौतिक चोला वि.सं.२०७१ असोज २८ गते अवसान भए पनी उहाँका कृतिमार्फत जनप्रिय लोकगायक जनकविकेशरी अमर हुनुहुन्छ । साउन १ गते उहाँको जन्मदिनमा उहाँको सम्झना झनै ताजा भएको छ !

प्रतिक्रिया दिनुहोस्