बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम सदिच्छा भण्डारी सम्मानित



नुवाकोट,जेठ २६— बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम सदिच्छा भण्डारी सम्मानित हुनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा भण्डारीले प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएकोले विद्यालयले मंगलबार सम्मान गरेको हो ।

१८औँ गणतन्त्र दिवस २०८३ को अवसरमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, हेटौँडा द्वारा आयोजित माध्यमिक तह (कक्षा ९–१२) स्तरीय “गणतन्त्र स्थापनाको १८ वर्ष : कार्यान्वयन र चुनौती” विषयक निबन्ध लेखन प्रतियोगितामा सदिक्षाले १६१ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्नुभएको थियोे ।

निर्देशनालयले जेठ ११ गते सूचना प्रकाशित गर्दै प्रतियोगिताको आह्वान गरेको थियो। प्राप्त निबन्धहरूको मूल्याङ्कनपछि उत्कृष्ट ठहरिँदै सदिक्षा भण्डारीलाई प्रथम घोषित गरिएको हो। उहाँको सफलतापछि जनज्ञान निकेतन माध्यमिक विद्यालयमा खुसीको माहोल छाएको जनाएको छ। विद्यालयले उनलाई बधाई तथा शुभकामना दिँदै उनको उपलब्धिलाई सम्पूर्ण विद्यालय परिवारको गौरवका रूपमा व्याख्या गरेको हो।

विद्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “तिम्रो प्रखर चिन्तन र सिर्जनशील शब्द–शिल्पले प्रदेशस्तरीय मञ्चमा उत्कृष्ट सफलता हासिल गरेकोमा हामी गौरवान्वित छौँ।” गणतन्त्र जस्तो महत्वपूर्ण विषयमा सशक्त अभिव्यक्ति प्रस्तुत गर्दै सदिक्षाले ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा पनि प्रतिभा र क्षमता उच्च स्तरको हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन्।

प्रतियोगितामा दोस्रो स्थान रामेछापको मन्थली माध्यमिक विद्यालयकी रिश्ता कार्कीले हासिल गरेकी छन्। त्यस्तै सिन्धुलीको गौमती माध्यमिक विद्यालयका निराकार सिग्देल, फ्लोरोसेन्ट माध्यमिक विद्यालयकी अनुश्री मिश्र तथा काठमाडौंको विद्याश्री पाठशालाका आयुष घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्