भेडापालक किसानलाई आधुनिकतासँग जोड्दै स्थानीय सरकार, बनाइदियो भेडापालक किसानलाई खोर
बागलुङ,जेठ ३१ । बागलुङको निसीखोला गाउँपालिकाले परम्परागत भेडापालनलाई व्यावसायिक बनाउन चालु आर्थिक वर्षमा रु १ करोड १२ लाख बजेट विनियोजन गरेको छ। सो बजेटबाट आधुनिक खोर निर्माण, खानेपानी व्यवस्थापन, औषधि खरिद तथा भेडाका बच्चा खरिद गर्ने योजना अघि बढाइएको छ।
गाउँपालिकाका अनुसार खोर निर्माण र खानेपानी व्यवस्थापनका लागि रु ६२ लाख ९४ हजारभन्दा बढीको ठेक्का सम्झौता गरिएको छ भने रु १२ लाख बराबरको औषधि खरिद भइसकेको छ। हालसम्म २२ वटा आधुनिक खोर निर्माण सम्पन्न भइसकेका छन् र खानेपानीको काम अन्तिम चरणमा पुगेको छ।
स्थानीय किसानहरूले आधुनिक खोर र खानेपानी सुविधाले भेडामा रोग लाग्ने, चिसोका कारण मर्ने तथा चोरी हुने समस्या कम हुने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि भेडापालन क्षेत्रको विकासका लागि थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

