नुवाकोटमा लोप हुँदै लुतो फाल्ने चलन



नुवाकोट १ साउन । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन बिहीबार नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ लुतो फाल्ने चलन थियो । अहिले समयमा जिल्लाका धेरै ठाउँका स्थानीयवासीले लुतो फाल्न बिर्सिसकेका छन् ।

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय रहेका छन् । जिल्लाका सबै ठाउँमा प्रायजसो लुतो फाल्ने चलन लोप भइसकेको छ । आजकल मानिसले सास्ंकृतिक कुरा भुल्दै गएको तारकेश्वर गाउँपालिका–४ बुधसिंहका पण्डित रुद्रप्रसाद देवकोटा बताउँछन् । उनका अनुसार लुतो फाल्ने दिन गाउँका महिला, घरमूलीलाई भ्याईनभ्याई हुन्थ्यो । लुतो फाल्ने सामग्री जङ्गलमा गएर जुटाउनै दिनभरि लाग्ने गर्थ्यो ।

स्थानीयवासी झङ्कबहादुर वस्तीले १५/२० वर्षअघिसम्म लुतो फाल्ने चलनलाई चाडकै रुपमा लिने गरेको बताए । उनका अनुसार कुकुर दाइना, भलायोको पात, कुरिलो, पानीसरो, पुरेनी गलेनी, लजावती काँडाँ, धयँरी, अरेलीको काँडा, अँयरी, फड्काइलो, चिलाउनेको पात, कटुस, भक्केअमिलो, बुट्टीझार, चरीअमिलो, बकाइनो, रुदिलोलगायत बर्खामा पाइने वनस्पति र मकैलाई लुतोको विशेष सामग्रीका रुपमा लिएर साँझपख थाल ठटाउँदै विधिपूर्वक फाल्ने चलन थियो ।

विदुर नगरपालिका–३ भोर्लेकी मैयाँदेवी खड्काले लुतो फाल्ने साउनको सङ्का्रन्तिका दिन नमनाउँदा घाउखटिरा आउने, बिरामी हुने पुरानो विश्वास रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्