उत्साहजनक राजस्व संकलन, वर्षमै उठ्यो ३ खर्ब ८४ अर्ब ३१ करोड



काठमाडौं, २ साउन । एक वर्षको अवधिमा आन्तरिक राजस्व विभागले ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

विश्वभर फैलिएको कोरोना भाइरसका बीच पनि करिब चार महिनाको लकडाउन असार लागेपछि केही खुकुलो भएसँगै राजस्व विभागले गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा उक्त परिणामको राजस्व संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष २६ अर्बभन्दा बढी संकलन भएको जनाइएको छ । जसमध्ये आयकरतर्फ २ खर्ब १७ अर्ब २६ करोड, अन्तःशुल्कतर्फ ६४ अर्ब ७९ करोड र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९८ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, शिक्षा, स्वास्थ्य सेवा शुल्क र अन्य करबापत ४ अर्ब ४ करोड रुपैयाँ गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको भएको विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आव २०७५/७६ मा संकलन भएको कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँभन्दा करिब ७ प्रतिशतले बढी हो । यो रकम अघिल्लो आवको भन्दा २६ अर्ब १० करोड रुपैयाँले बढी भएको विभागले जनाएको छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले करोना भाइरसको प्रभावले मुलुकको आर्थिक अवस्था बिग्रिएको तथा संकटका बेला पनि उत्साहजनक रूपमा राजस्व संकलन भएको बताए ।

उनले आमकरदाताले स्वस्फूर्त रूपमा राजस्व तिरिदिएकाले सरकारलाई सहयोग भएको बताए । कोरोनाका कारण विगत तीन महिनाभन्दा बढी समयको लकडाउन गत १ असारबाट केही खुकुलो भएसँगै सेवाग्राही एवं व्यवसायीले स्वस्फूर्त रूपमा राजस्व बुझाइदिएकाले छोटो समयमा नै यति धेरै राजस्व संकलनमा आफूहरूलाई सफलता मिलेको महानिर्देशक कुँवरले बताए ।

एक वर्षको अवधिमा संकलित राजस्व अघिल्लो आव २०७५÷७६ को भन्दा करिब ७ प्रतिशतले बढी भएको उनले जानकारी दिए । अघिल्लो आव २०७५/७६ मा विभागले जम्मा ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । गत आवका लागि विभागले कुल ४ खर्ब ८६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्