लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड पदयात्राका लागि खुला
काठमाडौं,कात्तिक ६ । लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुईवटा वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले जनाएको छ।
टानका अनुसार पहिलो विकल्पमा काठमाडौं हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल र लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिन्छ।
त्यस्तै, दोस्रो विकल्पमा काठमाडौं, चिसापानी, हेलम्बु, थारेपाटी, घोप्टे र गोसाइँकुण्ड हुँदै ठूलोस्याप्रु पुग्न सकिन्छ। त्यहाँबाट बम्बु, लामाहोटेल र लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ।
टानले पदयात्री, पर्यटक तथा पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, पदयात्राका क्रममा आवश्यक सुरक्षा सावधानी अपनाउन पनि टानले अनुरोध गरेको छ।

