साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपालीको मृत्यु



काठमाडौँ,कात्तिक ५ । साउदी अरेबियामा भएको ड्रोन आक्रमणका क्रममा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार वक्तव्य जारी गर्दै बुधबार भएको घटनामा साउदी अरेबियाको अराम्कोस्थित तेल प्रशोधन क्षेत्रमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। आकाशमै रोकिएको ड्रोनको अवशेष लाग्दा नेपाली नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपाली नागरिकको दुःखद निधनप्रति मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घटनामा घाइते भएका अन्य व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मन्त्रालयले सर्वसाधारण नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको निन्दा गरेको छ। नेपाल सरकारले आफ्नो शान्तिपूर्ण अडान दोहोर्‍याउँदै विवादहरूको समाधान संवाद, वार्ता र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ।

उक्त घटनामा फिलिपिन्सका एक नागरिकको पनि मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्