दसैँमा निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना लाभान्वित
काठमाडौँ,कात्तिक ५ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।
दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई मध्यनजर गर्दै सञ्चालन गरिएको निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको हो।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट एक हजार ४०६ जना नागरिक लाभान्वित भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएको थियो।
महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले नेपाल प्रहरीको निःशुल्क बस सेवा लिएका थिए।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म दुई हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन्।
दुवै सुरक्षा निकायले चाडपर्वका बेला यात्रुलाई सहज र सुरक्षित आवतजावतको व्यवस्था मिलाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरेका हुन्।

