मङ्गलबारदेखि वर्षाको सम्भावना, हल्लाको पछि नलाग्न मौसम विभागको आग्रह
काठमाडौं,कात्तिक ६ । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैलाई आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा सात दिनसम्म वर्षा हुने भन्दै फैलाइएको खबरप्रति ध्यानाकर्षण गराउँदै आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको हो।
उहाँका अनुसार आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना देखिए पनि कुन स्थानमा कति वर्षा हुन्छ र वर्षा कहिलेसम्म जारी रहन्छ भन्ने कुरा अहिले नै निश्चित भइसकेको छैन।
सामाजिक सञ्जालमा फैलिएको सात दिनसम्म वर्षा हुने भन्ने खबरले विशेषगरी किसानलाई त्रसित बनाएको उल्लेख गर्दै उहाँले मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो।
मौसमविद् महर्जनका अनुसार नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि सात दिनसम्मको पूर्वानुमान पूर्ण रूपमा मिल्ने अवस्था हुँदैन।
आगामी साता हुन सक्ने वर्षाबारे थप स्पष्ट जानकारी केही दिनपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो। मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि विभागको आधिकारिक सूचनालाई मात्र विश्वास गर्न पनि उहाँले सबैमा अनुरोध गर्नुभएको छ।

