फेरि सर्‍यो नेकपा स्थायी कमिटी बैठक, बालुवाटार पुगेका नेताहरु त्यसै फर्किए



काठमाडौं २ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । नेकपाका अधिकांश् स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । शुक्रबार नै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । नेकपामा अध्यक्ष केपी शर्मा ओलीका कारण सरकार र पार्टी गतिहीन भएको भन्दै उनलाई राजीनामा दिनुपर्नेमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षको छ । तर ओलीले कुनै पदबाट राजीनामा नदिने अडान लिइरहेका छन् ।

मुलुक बाढीपहिरो, कोरोना भाइरसको चपेटामा परिरहेको बेला नेकपा सत्ता झगडामा रुमलिएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना र विरोध भइरहेको छ । तर पनि ओलीलाई सरकारबाट हटाउन नहुने भन्दै सकडमा २५/२० जनाको समूहमा युवाहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । सरकार र मन्त्रीहरुको नजिक रहेकाहरुले सामाजिक सञ्जालमा सरकारको बचाउ गरिरहेका छन् भने सत्तारुढ नेकपाकै नेताहरुले त्यस विषयका खिसीट्युउरी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्