चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षभित्र २६ गैंडा मरे



साझापथ संवाददाता

चितवन,साउन २। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षभित्र २६ गैंडा मरेका छन् । राष्ट्रिय निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् ।२६ गैंडामध्ये  २४ निकुञ्ज क्षेत्रमा र दुईवटा गैंडा वन क्षेत्रमा मृत भेटिएका हुन।

अघिल्लो वर्ष २०७५/७६ मा प्राकृतिक कारणले ४३ गैंडा मरेको तथ्यांक छ- निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिले बताए । त्यस तथ्यांकलाई छाडेर अघिल्ला दुई वर्षको तथ्यांक हेर्ने हो भने प्राकृतिक कारणबाट २६/२६ गैंडा मरेका थिए । गत आर्थिक वर्षमा गैंडा मर्नुका कारणमध्ये  बुढो भएर छ वटा , जुधेर तीनवटा , दलदलमा फसेर तीनवटा, ढुसियुक्त खानाका कारण चार वटा, बाघको आक्रमणका कारण एकवटा गैंडाले ज्यान गुमाएका छन् ।

त्यस्तै रुखले किचेर एउटा,करेन्ट लागेर दुई, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेको संरक्षण अधिकृत  उप्रेतीले बताए ।

मरेकामध्ये १३ भाले, १० पोथि र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए । बितेको आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका छन्  । त्यस वर्ष नौ भाले, १४ पोथि र २० को कंकालमात्र भेटिएको थियो । धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेती बताउँछन् ।

सन् २०१५ को गणनाले प्राकृतिक कारणबाट गैंडा धेरै मरेको तथ्यांक देखाएको छ। भने चोरी शिकारीबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६ सय ५ गैंडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६ सय ४५ गैंडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिदैं छ ।

प्रतिक्रिया दिनुहोस्