संक्रमित दरभन्दा डिस्चार्ज दर दोब्बर



काठमाडौं,साउन ३ । पछिल्लो दिन यता कोरोना भाइरस संक्रमण दर घटेको छ। संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ । पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । जसअनुसार दैनिक ४ हजार ७ सय २९ जनाको कोरोना परीक्षण भएको देखिन्छ । कुल संक्रमितमध्ये हालसम्म ६६.१२ प्रतिशत डिस्चार्ज भएका छन् । यस्तै ३३.८८ प्रतिशत सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् । दुई साताको अवधिमा १० हजार ३ सय ६९ जना क्वारेन्टिनबाट घर फर्किएका छन् । यस्तै, दुई साताको अवधिमा आइसोलेसनमा उपचाररत ३ हजार १ सय ७१ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८ हजार ४ सय ९८ जनाको आरटी–पिसिआर प्रविधीबाट कोरोना परीक्षण गर्दा १७ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपचारपछि ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् ।

हाल क्वारेन्टिनमा २२ हजार ७ सय ५६ छन् । संक्रमितमध्ये ५ हजार ८ सय ७१ जना आइसोलेसनमा उपचाररत छन् । अधिकांशको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ४० जनाको मृत्यु भएको छ ।

काठमाडौंमा समुदायमा संक्रमण छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका समुदायस्तरमा संक्रमण नफैलिएकाले आत्तिन नपर्ने बताए । गौतमले समुदायस्तरको परीक्षणका क्रममा काठमाडौंमा भीड हुने कार्यालहरुसहितका ४ हजार ८ सय जनाको स्वाब संकलन भएकामा तीन जनामा मात्रै पोजेटिभ देखिएकाले समुदायमा संक्रमण नभएको पुष्टि भएको जानकारी दिए । संक्रमित तीन जनामध्ये पनि दुई जना विदेशबाट फर्किएका हुन् ।

यस्तै, काठमाडौं उपत्यकामा हालसम्म ३० सय ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ४६, ललितपुरमा ७५ र भक्तपुरमा ४९ जनालाई संक्रमण देखिएको छ । शुक्रबार काठमाडौंमा थप एक र भक्तपुरमा दुई जनालाई संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नक्खु, कोटेश्वर, बोडे, शहीद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टोखा, डिल्लीबजार, मनोहरा, शंखमुल, बूढानिलकण्ठलगायतका स्थानबाट नमुना लिएको थियो । महाशाखाले मानिसको बढी भीडभाड हुने स्थान र कार्यालयबाट स्वाब संकलन गरेको हो । संक्रमितको संख्या घटे पनि जोखिम भने कायमै रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

यो समाचार प्रशान्त वलीले राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्