सिन्धुपाल्चोकमा बाढीपहिरोले पूर्ण क्षति भएका घरहरु वाग्मती सरकारले बनाइदिने, ३ पालिकालाई राहत दिने निर्णय



मकवानपुर (हेटौंडा) ३ साउन। सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु वाग्मती प्रदेश सरकारले बनाइदिने भएको छ ।
वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार साँझ बसेको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।

समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोसी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको छ । प्रदेश सरकारले राहतका लागि तत्काल उपलब्ध गराउने रकमबाट स्थानीय तहले कार्यबिधिअनुसार राहत, घाइतेको उपचार, पुन:स्थापनालगायतका काम गर्न सक्ने मुख्यमन्त्री पौडेलले बताए ।

यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम एक लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ । १० दिनयता सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ५ जनाको मृत्यु र १९ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्