कांग्रेसद्वारा कोरोना संक्रमित कर्णाली प्रदेशसभा सांसद शाहीको स्वास्थ्यलाभको कामना



काठमाडौं ३ साउन । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दल एवं विपक्षी दलका नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण उनको होम आइसोलेसनमा उपचार भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । शाही पूर्वपर्यटनमन्त्री तथा खानेपानीमन्त्री समेत हुन् ।

नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टिको जानकारी असार ३० गते दिइएको हो । प्रतिपक्ष दलका नेता शाहीको असार २८ गते स्वाब परीक्षणमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शाहीलाई कोरोना पुष्टि भएको र उनको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले जानकारी दिएका थिए । शाहीलाई कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । संसदीय समितिका बिभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।

यसैगरी काँग्रेसले मोरङको केराबारी गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित अध्यक्ष रोहितबहादुर कार्कीलाई स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको भर्त्सना गर्दै खेद प्रकट गरेको छ । गम्भीररुपमा घाइते भएका कार्कीको गर्धन र हातमा चोट लागेको र हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको काँग्रेसले जनाएको छ ।

काँग्रेसले एक विज्ञप्तिमार्फत खुकुरी प्रहार गर्ने ठकुरीलाई गिरफ्तार गरी कडा कानूनी कारवाही गर्न माग गर्दै घाइते भएका कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्