नेपालमा कोरोना संक्रमणदर घट्दै,सक्रिय संक्रमित ५८२५ मात्रै
काठमाडौं,साउन ४ । पछिल्लो दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ भने कोरोना मुक्त भइ घर फर्किनेको संख्या पनि वृद्धि भएको छ । तथ्यांकअनुसार कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो । गत १६ असारमा सबैभन्दा धेरै सक्रिय संक्रमित १० हजार ३ सय ४१ जना पुगेको थियो । सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९, २ मा १ हजार ८ सय ४४, बाग्मती प्रदेशमा ४ सय ११, गण्डकी प्रदेशमा ४ सय आठ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबार सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३९ जना रहेको थियो । शनिबार यो संख्या घटेर ५ हजार ८ सय २५ पुगेको हो । यसरी हेर्दा एक साताको अवधिमा सक्रिय संक्रमित २ हजार ४ सय १४ जना डिस्चार्ज भएका छन् । यसैबीच, पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म २३ हजार दुई सय ७५ जना क्वारेन्टाईनमा बस्दै आएका छन् । हालसम्म २७ वटा प्रयोगशालाबाट तीन लाख ११ हजार ८ सय २९ जनाको आरटी–पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण गरिएको छ । नेपालका केहि जिल्लाबाहेक सबै ठाउँमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
हालसम्म सबैभन्दा धेरै प्रदेश ५ बाट ३ हजार ७ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश २ मा २ हजार ६ सय ३३ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कर्णाली प्रदेशमा १ हजार ४ सय ९२, गण्डकी प्रदेशमा ९ सय ४६ र प्रदेश १ मा ७ सय ४९ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् ।
यो समाचार प्रशान्त वलीले राजधानी दैनिकमा लेखेका छन् ।