देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह



काठमाडौ, साउन ४ । मनसुनी वायुका प्रभावका कारण देशभर भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको र यसले थप गति लिने बताइएको छ । नेपालको तराई भूभागदेखि केही दक्षिणतिर मनसुनी न्यून चापीय रेखा रहेको र क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने मौसम विभागले जनाएको छ।

आज रातिदेखि भने वर्षा बढ्ने भएकाले नदीको सतहसमेत बढ्नसक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आज आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।  न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ। यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।  आज राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ।

सोमबार भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति भने देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्