जगेडामा ग्यास नराख्न एलपी ग्यास उद्योग सङ्घको आग्रह, आपूर्ति नियमित रहेको दाबी



काठमाडौँ, साउन ११ — नेपाल एलपी ग्यास उद्योग सङ्घले बजारमा देखिएको खाना पकाउने ग्यासको अस्थायी अभाव आवश्यकताभन्दा बढी जगेडा गर्ने प्रवृत्तिका कारण भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा अतिरिक्त सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।

सङ्घका अनुसार भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहे पनि उपभोक्ताले एकैपटक जगेडाका सिलिन्डर भर्न ल्याउँदा बजारमा अस्थायी अभाव देखिएको हो।

सङ्घका अध्यक्ष दिवान चन्दले भारतबाट आउने ग्यासको मात्रा नघटेको स्पष्ट पार्दै विगतझैँ दैनिक करिब १०० बुलेट ग्यास नेपाल भित्रिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल आयल निगममार्फत पहिलेकै परिमाणमा ग्यास आपूर्ति भइरहेकाले उत्पादन वा आयातमा कुनै समस्या छैन।

उहाँले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास मौज्दात नगर्ने हो भने अहिले देखिएको अभाव स्वतः समाधान हुने बताउनुभयो।सङ्घका सदस्य विमल कालाखेतीले पनि सामान्य अवस्थाअनुसार आवश्यक पर्ने परिमाणमा ग्यास आइरहेकाले दीर्घकालीन समस्या नरहेको बताउनुभयो। उहाँले जगेडाका सिलिन्डर समयमै भराउन सुझाव दिइएको भए पनि ढिलाइ हुँदा त्यसको प्रभाव अहिले बजारमा परेको उल्लेख गर्नुभयो।

हाल नेपालभर करिब एक करोड ५० लाख ग्यास सिलिन्डर प्रचलनमा रहेका छन्। तीमध्ये करिब ५० लाख सिलिन्डर विभिन्न ग्यास डिपोमा रहेको सङ्घले जनाएको छ। सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था लागू गरेको छ। नेपालमा हाल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्