नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी मात्रै चल्ने



काठमाडौं,साउन ११ । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। प्रारम्भिक तीन महिनासम्म परीक्षण अवधि सञ्चालन गरिनेछ, जसमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। यस अवधिमा सुरक्षा तथा ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालनपछि भने कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मन्त्रिपरिषद्ले यसअघि सवारीसाधनको प्रकारअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ।

करिब ८० महिनापछि सम्पन्न भएको यो आयोजना काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलासम्म जोडिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो सडक छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म घट्ने अपेक्षा गरिएको छ।

आयोजनाका लागि जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ।निर्माणमा करिब १७ अर्ब रुपैयाँ, विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप दुई अर्ब रुपैयाँ तथा जग्गा अधिग्रहण र मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। यसका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा सम्पन्न भएको थियो।निर्माण ४२ महिनाभित्र सक्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी र विभिन्न प्राविधिक जटिलताका कारण आयोजना निर्धारित समयभन्दा निकै ढिलो सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्