नेपालको पहिलो सडक सुरुङ सञ्चालनमा, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन
काठमाडौँ, साउन ११ — नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाइकाका अध्यक्ष तानाका अकिहिकोले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो। उहाँले यो परियोजना पूर्वाधार निर्माणमा मात्र सीमित नभई नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्नुभयो। सुरुङको योजना, सञ्चालन र मर्मतसम्भारका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिँदै उहाँले यसले दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको स्मरण गर्दै उहाँले नागढुङ्गा सुरुङलाई दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको जीवन्त प्रतीकको रूपमा व्याख्या गर्नुभयो।
जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक मेहनतबाट परियोजना सफल भएको बताउनुभयो। उहाँले यसबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप र उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका लामो समयदेखि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गर्दै सुरुङ सञ्चालनसँगै यात्रा समय घट्नुका साथै ट्राफिक जाम र दुर्घटनाको जोखिम पनि कम हुने बताउनुभयो। उहाँले नेपाली र जापानी इन्जिनियरहरूको संयुक्त प्रयासले जटिल भौगोलिक चुनौतीका बीच परियोजना सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।
दुई हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्गको निर्माण विसं २०७६ कात्तिक २८ गते सुरु भएको थियो। सुरुआती लक्ष्यअनुसार २०८० वैशाखभित्र सम्पन्न हुनुपर्ने आयोजना ठेकेदारको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीय अवरोधका कारण प्रभावित भएको थियो।
सरकारले यसअघि नै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० शुल्क तोकिएको छ। अन्य सवारीसाधनका लागि पनि वर्गअनुसार फरक–फरक दस्तुर निर्धारण गरिएको छ।
नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौँ–नौबिसे सडकखण्डको यात्रा छोट्याउनुका साथै सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

