तारकेश्वर–८ को सडकमा कुटाकुट विवाद मिलापत्रमार्फत टुङ्गियो



काठमाडौँ, साउन ११ । काठमाडौँको तारकेश्वर–८ क्षेत्रमा भएको सडक कुटाकुटको विवाद मिलापत्रमार्फत टुङ्गिएको छ। पछिल्ला दुई दिनदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको घटनामा दुवै पक्षबीच आपसी सहमति भएको हो।

बालाजु प्रहरी वृत्तमा भएको लामो छलफलपछि तारकेश्वर निवासी ज्ञानेन्द्र अर्याल र अर्घाखाँची घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुष्कर भट्टराईबीच मिलापत्र भएको हो। छलफलमा दुवै पक्षका आफन्तसहित समाजसेवी, बुद्धिजीवी तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको बताइएको छ।

सञ्चारकर्मी राजन नेपालको पहल र सहजीकरणमा भएको छलफलपछि पीडित पक्षले आफूले न्याय पाएको, उपचार खर्चसमेत उपलब्ध गराइएको तथा मेलमिलापप्रति सन्तुष्टि व्यक्त गरेको जनाएको छ।

सहमतिअनुसार दुवै पक्षले अब यस विषयलाई लिएर कुनै पनि स्थानमा थप विवाद नगर्ने, आपसी सद्भाव कायम राख्ने र घटनालाई यहीँबाट अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

मिलापत्रपछि संचारकर्मी नेपालसँग ज्ञानेन्द्र अर्याल र पुष्कर भट्टराईले एकअर्कासँग हात मिलाउनुका साथै अँगालो मार्दै विवादको औपचारिक अन्त्य भएको सन्देश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्