सार्वजनिक यतायातका साधन सोमबारदेखि चलाइने, व्यवसायीहरुको माग मौद्रिक नीतिमार्फत सम्बोधन



काठमाडौं ४ साउन । आन्दोलनका बेला जसरी मागै माग तेर्स्याएर यातायातका साधन चलाउन आनाकानी गरिरहेका व्यवसायीहरु अन्तत: सोमबारदेखि सवारी चलाउन तयार देखिएका छन् ।

यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा व्यवसायीहरुले सोमबारबाट यातायात सञ्चालन गर्ने बताएका हुन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले विभिन्न माग राख्दै आएका थिए ।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड–१९ संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेको उनले बताए ।

हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । काठमाडौं उपत्यकाको हकमा भने यो लागू नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्