शीर्ष नेताबीच कुरा नमिलेपछि नेकपा बैठक साउन ६ गतेसम्म स्थगित



काठमाडौं ४ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । यसअघि आइतबार ३ बजेका लागि बैठक तय गरिएको थियो ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहेकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।

दलभित्रको विवाद मिलाउन शनिबार साँझ सचिवालय बैठक बसेको थियो । त्यसमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए । जसमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाए पनि वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतले अस्वीकार गरेका थिए ।

पछिल्लो समयमा ओली बेलगाम बनेको भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा माग गरिएको छ । ओलीले पछिल्लो समयमा अयोध्याबारे दिएको अभिव्यक्ति निकै आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्