बागलुङ गलकोटमा ६९ मिटर लामो झोलुङ्गे पुलको शिलान्यास



साझापथ संवाददाता

बागलुङ,साउन ४ । बागलुङस्थित गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलान्यास गरेका हुन ।

शिलान्यासपछि बोल्दै नगर प्रमुख गैरेले गलकोट नगरपालिका भित्र सम्पन्न हुन लागेका ५ वटा पुल मध्ये आगाँखेत बामिया जोड्ने झोलुङ्गे पुललाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । उनले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण समितिलाई आग्रह गरे । गैरेले जनताको हरेक गतिविधिमा नगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले गलकोट नगरपालिका नगरको सम्बृद्धिमा सदैव तत्पर रहँदै विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन् । बि.वाई.सी बागलुङ र एस डब्लु ए पि को समन्वयमा गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ३७ लाख ५० हजारको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।उनका अनुसार पुरानो पुल गत वर्ष बैशाख १ र २ गते हुलुवा खोलामा आएको बाढीले बगाएपछि स्थानीयलाई ओहोर दोहोर गर्न समस्या भएको थियो अब पुल निर्माण भएपछि आगाँखेत र बामियाका स्थानिय सँगै दिपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समेत खोला वारपार गर्न सहज हुनेछ ।

सोही अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, झोलुङ्गे पुल निर्माण समितिका संयोजक नर बहादुर थापा मगरले मन्तव्य राखेका थिए । आँगाखेत र बामिया जोड्ने उक्त झोलुङगे पुल ६९ मिटर लामो हुने उपभोक्ता समितिका सदस्य टेकनाथ गौतमले जानकारी दिए । पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिए ।

यो पुल भएर बागलुङ सदरमुकाम सम्म पुग्न पश्चिम बागलुङ सम्मका नागरिकहरु ओहोरदोहोर गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्