प्रष्टीकरण दिनमै प्रचण्डको हैरानी



काठमाडौं ५ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिनभर प्रष्टीकरणमै बितेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली ओलीसँग मिलेर मंसिरमा पार्टी महाधिवेशनको प्रस्ताव ल्याएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले आफ्ना निकट मानिएका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत अन्य नेताहरुलाई खुमलटारमा प्रस्टीकरण दिनु परेको हो । अध्यक्ष प्रचण्डले विभिन्न चरणमा गरेर सचिवालय र स्थायी कमिटीका आफूनिकट नेताहरुलाई विश्वासमा लिने प्रयत्नस्वरुप प्रष्टीकरण दिएका छन् । यद्यपि उनले आइतबार साँझ २ घन्टा प्रधानमन्त्री ओलीसँग बालुवाटारमा वार्तासमेत गरे । तर निष्कर्ष निस्किएन ।

प्रचण्डले सुरुमा आइतबार बिहानै उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेका थिए । त्यसपछि महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग भेट गरे । लगतै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका नेताहरुलाई दाहालले प्रष्टीकरण दिए । प्रचण्डले नेताहरुलाई शनिबार राष्ट्रपति निवासबाट फर्केने बेलामै फोन गरेर आएतबार बिहान खुमलटार आउन भनेका थिए ।

खुमलटारमा सचिवालयका ४ नेतासहित नेपाल निकट र पूर्वमाओवादी निकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुसाल, भीम आचार्य, वर्षमान पुन, मुकुन्द न्यौपाने, देवप्रसाद गुरुङ, पम्फा भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए ।

सबै भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीले महाधिवेशनको प्रस्ताव अल्झाउने र स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न भएको प्रष्टीकरण दिए । ‘अर्ली महाधिवेशनको प्रस्ताव अल्झाउने प्रस्ताव हो । न सदस्यताको टुंगो लागेको छ । न पार्टी एकीकरणको प्रक्रिया पूरा भएको छ । न वैचारिक छलफल हुने समय छ । प्राविधिक कुरा गरेर मात्रै महाधिवेशन हुँदैन । यो प्रस्ताव जसरी आयो त्यो अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न हो । हिजो केही सहमति गरिएको छैन,’ उनको भनाइ एक नेताले भने ।

प्रचण्डले सहमति भएको थिएन भनेर प्रष्टीकरण दिए पनि सचिवालयका तीन नेताले प्रतिप्रश्न गरेका थिए । उनका अनुसार पूर्व एमालेकै नेताहरुले प्रचण्डलाई भनेका थिए, ‘तपाईं धन्नै फस्नु भएको हो । हामी सबैलाई पूर्वएमाले एक हुनुपर्छ, जबजलाई अगाडि बढाउनु पर्छ भनेर अनेक गर्न खोजेका थिए ।’ त्यसपछि प्रचण्डले शनिबारको सचिवालय बैठकमा महाधिवेशन प्रस्तावको आलोचना गर्न नसक्नु र नरम रुपमा प्रस्तुत हुनु आफ्नो कमजोरी भएको प्रष्टीकरण दिएका थिए । स्थायी कमिटी सदस्य बेदुराम भुसालले पनि आइतबार बिहान दाहाल निवासमा छलफलभन्दा प्रष्टीकरण जस्तै भएको बताएको इकान्तिपुर डटकममा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्