नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पन्छाउन दिनभर लाग्‍ने, भीमफेदी–कुलेखानी पनि अवरुद्ध



चितवन ५ साउन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५ किलोमिटर दूरीमा पर्छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीका अनुसार पहिराले करिब ६० मिटर क्षेत्र ढाकेको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट एउटा लोडर तथा नारायणगढ तर्फबाट एउटा लोडर र एउटा व्याकहु परिचालन गरिएको छ ।

भाडामा पाइएमा मुग्लिनतर्फबाट एउटा व्याकहु प्रयोग गर्नका लागि खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । थप वर्षा नभएमा दिनभरमा पहिरो सफा गरिसकिने जनाइएको छ । पानी परिरहेको र पहिरो खसिरहेकाले काम गर्न कठिन भएको छ । सो सडकमा अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भइसके पनि त्यस स्थलमा काम गर्न शुरु गरेलगत्तै पहिरो खस्न थालेको हो ।

अधिकारीका अनुसार सो सडक र पृथ्वी राजमार्गका ठाउँठाउँमा साना पहिरो खसिरहेका छन् । डिभिजन सडक कार्यालयले नौबीसेमा एउटा लोडर तथा गजुरीमा एउटा लोडर र एउटा व्याकहु तयारी अवस्थामा राखेको छ । पहिरो खस्ने ठाउँमा तत्काल परिचालन गरेर सडक सफा गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यस क्षेत्रमा दुई दिनयता निरन्तर वर्षा भइरहेको छ । सडक अवरुद्ध हुँदा अत्यावश्यक कामका लागि हिँडेका यात्रु, बिरामी र सामग्री बोकेका ट्रक बाटामा रोकिएका छन् ।

पहिराले भीमफेदी–कुलेखानी सडक अवरुद्ध
यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले बताए ।

काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्