संघीय संसद्का सभामुख र अध्यक्षद्वारा समिति सभापतिहरुसँग छलफल, समन्वय नभएको गुनासो



काठमाडौं ५ साउन । संघीय संसद् प्रतिनिधसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति सभापतिहरुसँग छलफल गरेका छन् ।

सभामुख सापकोटाको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहालको उपस्थितिमा प्रतिनिधिसभाका, राष्ट्रिय सभाका र दुबै सदनका संयुक्त समितिका सभापतिहरुसँग बिहान ११ देखि दिउँसो ४ बजेसम्म छलफल भएको हो । समितिका काम कारबाही, समस्या, समाधान र विविध विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समितिका सभापतिहरुले आ–आफ्नो समितिले गरेका काम, भोग्नुपरेको समस्या, खोजिएको समाधानबारे भनाइ राखेका थिए ।

छलफलमा सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले सभापतिहरुले उठाएका विषयहरुमा आफ्नो धारणा राखेका थिए । छलफलका क्रममा यस्ता बैठकहरु नियमितिरुपमा रुपमा राख्ने विषयमा सहमति भएको विज्ञप्तिमा जनाइएको छ । सभामुख सापकोटाले समिति सञ्चालनमा समन्वय नभएको भन्ने सभापतिहरुले गुनासो गरेको जानकारी गराए ।

बैठकमा प्रतिनिधि सभाका १० मध्ये ८, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ मध्ये १ गरी १३ जना सभापतिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्