स्थानीयको सक्रियतामा पहिरो हटाइएपछि खुल्यो छहरे-टोखा सडकखण्ड, एकतर्फी यातायात सञ्‍चालन



पहिरोका कारण सडकमा झरेको ढुङ्गा तथा रुख हटाउँदै स्थानीय तथा यात्रु । तस्बिर : प्रवीण थपलिया

साझा पथ संवाददाता

नुवाकोट, साउन ५ । नुवाकोट-काठमाडौं आवातजावतको छोटो दूरीको सडकखण्ड छहरे-टोखाअन्तर्गत काफलडाँडाको पहिरो स्थानीयको सक्रियतामा हटाइएको छ ।

स्थानीयको अगुवाईमा सवारी चालक तथा यात्रु मिलेर अवरुद्ध सडकखण्डको पहिरो तथा रुख हटाइएपछि सवारीसाधन आवागमन सुचारु भएको शिक्षक प्रवीण थपलियाले जनाएका छन् ।

शिक्षक थपलियाका अनुसार ठूलो परीमाणमा खसेको ढुङ्गा भने पन्छाउन डोजर प्रयोग गर्नुपर्नेछ। ‘हामीले एकतर्फी सवारी आवागमन हुने गरी पहिरो तथा रुख हटाएका छौ’- उनले भने।

वर्षायाममा खसेको पहिरो हटाउन सडक विभागको डोजर तत्काल खट्नेगरी राखिएको बताइए पनि भारी वर्षाका कारण पुग्न नसकेको स्थानीय नारायण गुरुङले बताए । उनका अनुसार  सडक आवागमनमा अवरोध भएको खबर पाए लगत्तै तयारी अवस्थामा रहेको डोजर सडक निर्माणमा ल्याउने गरिन्छ ।

सडक अवरुद्ध भएपछि चालक तथा यात्रुहरु समेत पहिरो पन्छाउदै

पछिल्लो समय छहरे-टोखा सडकखण्ड  स्तरोन्नतिका क्रममा रहेकाले कटिङ भएका क्षेत्र जुनसुकै बेला खस्न सक्ने भन्दै समय र मौसमको अनुकूलता अनुसार यात्रा गर्नुपर्ने सडक डिभिजन कार्यालय नुवाकोटले स्थानीयलाई सुझाएको छ ।

आइतबार राति गुर्जे-छहरे सडकखण्डको चापाबोट क्षेत्रमा खसेको पहिरो । जुन सोमबार हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्