खासामा पर्ने केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोसीका तटीय क्षेत्रमा सतर्क रहन सिन्धुपाल्चोक प्रशासनको आग्रह



सिन्धुपाल्चोक साउन ५ । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ ।

ताल फुट्दा भोटेकोसी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोसी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लोतटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोही सूचनाका आधारमा तल्लोतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको बताए ।

चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको उनले जानकारी दिए । खासा क्षेत्रमा केही दिनदेखि उच्च वर्षा भइरहेकाले भोटेकोशी नदीको साथै स्थानीय खोल्सीमा बहाव बढेको समेत जनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

स्थानीय तहले समेत नदीतटीय क्षेत्रका बासिन्दालाई सम्भावित घटनाका बारेमा सूचना प्रवाह गरिरहेका छन् ।

विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो ।

त्यतिबेला झण्डै डेढ सय घर, संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डसमेत तहसनहस बनाएको थियो । चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्