भूपू गोरखाको सामाजिक सुरक्षा भत्ता कटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं साउन ५ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भूपू गोरखाको सामाजिक सुरक्षा भत्ता कटाउने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मन्त्रिपरिषद्को असार १७ गतेको निर्णयविरुद्ध गेसोले आइतबार सर्वोच्चमा रिट हालेको हो ।

गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय परिचय-पत्र तथा पञ्‍जीकरण विभागलाई विपक्षी बनाई गेसोका सभापति कृष्णकुमार राईले रिट दायर गरेका हुन् । उनले पूर्वगोरखा सैनिकमाथि नेपाल सरकारले पनि विभेद गरेकाले रिट हाल्नुपरेको बताएका छन् ।

सरकारले यही असार १७ गते विदेशी सरकारबाट निवृत्तिभरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । उक्त निर्णयले बेलायती, भारतीय, सिंगापुरलगायतका भूतपूर्व सैनिक प्रत्यक्ष प्रभावित हुने राईले बताए ।

प्रतिक्रिया दिनुहोस्