माडीमा चेपाङका घरहरु भत्काइएकोमा जनजाति महासंघको आपत्ति



चितवन साउन ६ । चितवनको माडी नगरपालिका ९ मा रहेको चेपाङ बस्तीका घरहरु भत्काएकोप्रति नेपाल अदिवासी जनजाति महासंघ घोर आपत्ति प्रकट गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै साउन ४ गते आइतबार चितवन राष्ट्रिय निकुञ्जलाई माध्याम बनाई आगो लगाउँदै हात्ती प्रयोग गरेर अमानवीय ढंगले चेपाङका घरहरु भत्काइएको भन्दै आपत्ति जनाएको छ ।

‘साँढे दुई दशकभन्दा पहिलेदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने संवैधानिक हकलाई वेवास्ता गर्दै नेपाल सरकार आफैंले संविधानको खिल्ली उडाएको छ । चितवन राष्ट्रिय निकुञ्जमार्फत सरकारले गरेको यो अमानविय निकृष्ट हर्कतको हामी निन्दा गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘निकुञ्जको यस्तो निच कार्यले आदिवासी चेपाङ समुदायको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, महत्वपूर्ण कागजातहरु पूर्ण रुपमा नष्ट भएको छ । कोभिड १९ को महामारी र बाढीपहिरोको विपत्तिमा परेका त्यस बस्तीका चेपाङहरुलाई राहत दिनुको सट्टा उल्टो घरबार विहिन बनाएर सरकारले आफ्नो चरित्र उदाङ्गो बनाएको छ ।’

चितवनको घटनाले नेपालका आदिवासीहरुको विभिन्न अधिकारहरु सरकारले हनन् गरेको भन्दै नेपाल सरकारले अंगिकार गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, मूल्य मान्यताको मर्मलाई उल्लङ्घन गर्दै मानवअधिकारको पूर्ण विरुद्धमा रहेको ठहर गरिएको छ । घटनाको छानबिन गरी दाषीउपर कारबाही गर्दै निर्दोष चेपाङहरुलाई उचित व्यवस्थापन गर्न नेपाल आदिवासी जनजाति महासंघले सरकारसँग जोडदार माग गरेको छ । यदि सरकारले यस घटनाको बेवास्ता गरेमा नेपाल आदिवासी जनजाति महासंघ कडा आन्दोलनमा उत्रने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्