नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित



काठमाडौं साउन ६ । पार्टीभित्रको समस्या समाधानका लागि भन्दै बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ ।

आन्तरिक कारण देखाउँदै बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘पार्टी स्थायी कमिटीको बैठक आज साउन ६ गते १:०० बजेसम्मका लागि स्थगित भएको छ ।’

असार १० गेतबाट सुरु भएको बैठक सहमति जुटाउने नाममा पटकपटक स्थगित हुँदै आएको छ । नेकपाभित्र पदबाँडमा कुरा नमिलेपछि विवाद चर्किँदै गएको छ । पछिल्लो समयमा सरकारले प्रभावकारी काम गर्न नसकेको, प्रधानमन्त्री ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय सवालमा जथाभावी बोलेको भन्दै उनको राजीनामा मागिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । तर ओलीले आफू पद नछाड्ने अडान दोहोर्‍याइरहेका छन् ।

बरु ओलीले शनिबार साँझ बसेको सचिवालय बैठकमा आफूलाई महाधिवेशनबाट हटाउन भन्दै मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसमा पनि प्रचण्ड लचिलो देखिए पनि नेपाल र खनालहरुले असहमति जनाए पछि नेकपाको विवाद लम्बिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्