फुट्न सक्ने चेतावनी दिइएको केरुङ छ्यो तालको सतह एक मिटर घट्यो



सिन्धुपाल्चोक साउन ७ । वर्षा रोकिएपछि खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।

चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

२०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो ।

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह
जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ ।

प्रतिक्रिया दिनुहोस्