लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिराले १८ घर पुरिए, ३ जना घाइते, उद्धार जारी



काठमाडौं,साउन ७ । अविरल वर्षाले लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिराले घर पुरिएका हुन् ।

मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताए । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ ।

घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु बुधबार बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताए । गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकाल्ने कार्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्