नुवाकोटमा आत्महत्या गर्नेको संख्या बढ्यो



प्रहरी प्रमुख अविनारायण काफ्ले विभिन्न तथ्यांक सार्वजनिक गर्दै;तस्बिर-केदार ढकाल

साझापथ संवाददाता

नुवाकोट,साउन ८ । नुवाकोटमा पछिल्लो समय यता आत्महत्या गर्नेको संख्या बढेको छ । तीन वर्षको समयावधिमा नुवाकोटमा १ सय ७२ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६१ जनाले आत्महत्या गरेका थिए।२०७५/७६ मा भने आत्महत्या गर्नेको संख्या घटेर ४६ जना पुगेतापनि २०७६/७७ मा भने आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ। ०७६/७७ मा ६५ जनाले नुवाकोटमा आत्महत्या गरेका छन् । अनुसन्धानको क्रममा आत्महत्या गर्नेमध्ये तीन वर्षको अवधीमा ८८ जनाले आवेशमा आएर आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए । प्रहरी प्रमुख काफ्लेको अनुसार गरिबीका कारण ४४, प्रेममा धोका खाएर ६, दीर्घरोगका कारण १०, मानसिक रोगका कारण २१ र अन्य कारणले ३ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले वुधबार सञ्चारकर्मीहरुलाई सहभागी गराएर गत आर्थिक वर्ष २०७६/७७को वार्षिक कार्ययोजना प्रगति विवरण र चालु आर्थिक वर्ष २०७७/७८को कार्ययोजना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो २ वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको बताए । गत वर्ष ११ वटा सवारी दुर्घटना हुदा १३ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । यस्तै आर्थिक वर्ष २०७५/७६ मा १५ वटा सवारी दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । २०७४/७५ मा १६ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको र ५१ जना घाइते भएका थिए । अघिल्लो २ वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५० प्रतिसतले कमी आएको देखिन्छ । सडकको स्तरोन्नती, चेकजाँचमा कडाई र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नाले सडक दुर्घटनामा कमी आएको प्रहरी प्रमुख काफ्लेले बताए ।

यस्तै, अघिल्लो २ वर्षको तुलनामा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट कारवाहीमा पर्ने सवारीसाधन र राजस्व सङ्कलनमा कमी आएको छ । आर्थिक वर्ष २०७४र७५ मा १९ हजार ९ सय १३ सवारी साधन कारवाहीमा पर्दा १ करोड २५ लाख ५४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने २०७५र७६ मा २२ हजार ६ सय ५६ वटा सवारी साधन कारवाहीमा पर्दा १ करोड ५१ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत वर्ष भने १४ हजार ७ सय ३१ वटा सवारी साधन कारवाहीमा पर्दा १ करोड ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण देशलाई नै लकडाउन गरिएको अवस्थामा १ हजार १० वटा सवारी साधन कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

यस्तै, गत वर्ष जिल्लाको ९५ जना व्यक्ति हराएको उजुरी प्रहरी कार्यालयमा परेको थियो । जसमध्ये महिला ७०, बालक ९ र बालिका १६ जना रहेका छन् । ती मध्ये ५६ जना महिला, ८ बालक र १५ बालिका गरी ७९ जना फेला परिसकेको छ भने १४ जना महिला, १ बालक र १ बालिका अझै भेट्टाउन सकिएको छैन ।

जिल्लालाई शान्ति सुरक्षा कायम गराउन ५ सय ५१ जना दर्जागत दरबन्दी भएता पनि हाल ३ सय २० जना मात्र कार्यरत रहेका छन् । जिल्लाको जनसङ्ख्याको आधारमा एक जना प्रहरीले ८ सय ६८ जना नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने अवस्था रहेको छ । चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यलयमा बाल निगरानी कक्ष निर्माण गर्ने लक्ष लिएको छ । बाल निगरानी कक्ष निर्माण गर्नलाई विदुर नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन गरिसकेको प्रहरी प्रमुख काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्