अविरल वर्षाले नेपालका विभिन्‍न भागमा पहिरो, नुवाकोट, चितवन, तनहुँ र मकवानपुरका सडकमार्ग अवरोध



काठमाडौं साउन ९ । अविरल वर्षाका कारण पहिरो र भासिएपछि मुलुकका विभिन्‍न राजमार्ग र सडकहरु अवरुद्ध भएका छन् । सडकहरु अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको बिजोग भएको छ ।

जिल्ला प्रहरीहरुका अनुसार पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र त्रिभुवन राजपथअन्तर्गत पालुङ–नौबिसे सडक खण्ड शुक्रबार अवरुद्ध छन् ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो ।

बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । उनले सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घन्टा लाग्ने अनुमान रहेको बताए ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी बताए । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ ।

त्रिभुवन राजपथअन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । ।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए ।

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्