आर्थिक अभावले नुवाकोट तादीका ब्लड क्यान्सरपीडित युवाको उपचारमा समस्या



साझा पथ संवाददाता

नुवाकोट साउन ९ । नुवाकोट तादी गाउँपालिका ४ तामेका १७ वर्षीय शिवराम कुइँकेलको आर्थिक अभावले ‘ब्लड क्यान्सर’ उपचारमा समस्या भएको छ ।

गत वैशाखदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत ब्लडक्सान्सर पीडित कुइँकेलको पैसा नहुँदा उपचारमा कठिन भएको उनका आफन्त दाइ उपेन्द्र दाहालले साझा पथसँग बताए । उनका अनुसार घरको आर्थिक अवस्था निकै कमजोर रहेका पीडित युवाको अहिले सहयोग उठाएर उपचार चलिरहेको छ ।

दाहालका अनुसार चिकत्सकले पहिलो चरणमा ८ महिनासम्म अब्जरभेसनमा राख्न भनिएको छ । काठमाडौं फुटुङ बस्दै आएका कुइँकेल लकडाउनका कारण भक्तपुर अस्पतालमा बस्न नपाएपछि निरन्तर ओहोरदोहोर गरी उपचार सेवा लिइरहेका छन् । त्यसपछि निको हुँदै गएपछि ६ महिना/ वर्षदिनमा किमो चढाउनु पर्ने चिकित्सकले बताएको छ । कुइँकेलको डब्लु बिसी (ह्याइट ब्लड सेल) मा क्यान्सर भएको हो ।

दाहालले चिकित्सकलाई उद्धृत गर्दै भने, ‘पहिलो रिपोर्टमा क्यान्सर ५७ प्रतिशत फैलिएको थियो । दोस्रोमा ५० प्रतिशत झरेर ७ मा आएर होप बढ्यो । । अब तेस्रो रिपोर्ट यही साउन ११ गते आउँदै छ ।’

डाक्टरले १५ देखि २० लाख रुपैयाँ लाग्ने अनुमानित खर्च बताएको छ । अहिलेसम्म किमो चढाउने, इन्जेक्सन दिने, औषधि दिने र यातायात खर्चा लगायत गरी झन्डै १० लाख रुपैयाँ खर्च भइसकेको दाहालले जानकारी दिए ।

आफूले दिएर सम्भव नभएपछि उनले आफैं सामाजिक सञ्‍जालबाट आर्थिक संकलन अभियान चलाएका छन् । जसबाट ४ लाख रुपैयाँ जम्मा भएर खर्च गरिएको दाहालले बताए । उनका अनुसार जापानबाट ६८, अमेरिकाबाट १७३ लाख र चिनेजानेकाबाट नेपालमा गरी उक्त रकम उठाइएको हो । कोरिया लगायत देशमा पनि सहयोग उठाउने क्रम चलिरहेको दाहालले बताए ।

पीडित बाबुआमा एक दाजु र दुई दिदीबहिनीका कान्छो भाइ शिवराम कुइँकेल गत चैतमा एसएलसी दिने तयारीमा थिए । तर कोरोना महामारीसँगै लकडाउन सुरु हुनु र उनमा ज्वरो आउनु एक समय परेको थियो । भरतपुर अस्पतालमा गएर जाँच गराउँदा उनमा कोरोना देखिएन बरु रक्तक्यान्सर पत्ता लागेको आफन्त दाजु दाहालले जानकारी दिए । त्यसपछि भक्तपुर अस्पतालमा उपचार सुरु गरिएको हो । बिरामी कुइँकेल चितवनको देवघाट वेदविद्याश्रममा संस्कृत पढ्दै थिए । ।

कुइँकेल आफू त जटिल रोगको उपचार गराइरहेका छन् भने उनका बुबा गत वर्ष दुई पटक अप्रेसन गरेका कारण घरमै आराम गरिरहेको दाहालले बताए । बुबा बिरामी, दाजु प्राइभेटमा सानोतिनो नोकरी र दिदीहरुको विवाह भइसकेकोले घरबाट उपचारका लागि खर्च जोहो गर्न अवस्था छैन । गाउँको पाखोबारी बेचेर वा रिन गरेर पनि उपचार गर्न सकिने अवस्था नरहेकोले उनले सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहनेका लागि नेपालमा उपेन्द्र दाहालको फोन नं- ९८५११५००१५ र एनआइसी एसिया बैंक टोखा ब्रान्चमा G587032487452401 खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्