कांग्रेसका महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण



काठमाडौ,साउन ११ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरुको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले काँग्रेसलाई थप सशक्त बनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए ।पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई सदस्यहरुमाझ पुर्‍याउने र सदस्यहरुमार्फत नागरिक मतदातालाई बुझाउन सके काँग्रेसको भविष्य थप सशक्त हुने उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुपर्ने, लोकतन्त्रप्रति विश्वस्त गराउनुपर्ने र काँग्रेसलाई भरपर्दो बनाउने प्रशिक्षणको लक्ष्य रहेको बताए ।

कार्यक्रममा ओखलढुङ्गा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टीका तर्फबाट प्रदेशसभा उम्मेदवारहरु मित्रसेन दाहाल र बालकृष्ण दाहालले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका जिल्ला शाखा प्रमुख एवं जिल्ला कार्यसमिति ओखलढुङ्गाका उपसभापति तेजेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्