प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
काठमाडौँ,असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नुभएको हो। उहाँलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ।
प्रधानमन्त्री शाह असोज ७ गते दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले स्वागत गर्नुहुनेछ।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतबाट भ्रमणसम्बन्धी ब्रिफिङ लिनुहुनेछ। त्यसपछि उहाँको सम्मानमा नेपालका स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुनुहुनेछ।
असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तापछि उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्नुहुनेछ।
प्रधानमन्त्री शाह असोज १० गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ।

