वरिष्ठ मूर्तिकार कालु कुमालेको निधन
ललितपुर,असोज ६ । वरिष्ठ मूर्तिकार ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको ९४ वर्षको उमेरमा निधन भएको छ। उहाँको आज दिउँसो ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छोरा राकेश अवालेले जानकारी दिनुभयो।
नेपाली मौलिक धातु मूर्तिकला र नेवारी शिल्पकलालाई विश्वभर चिनाउन कुमालेको महत्वपूर्ण योगदान रहेको छ। उहाँले निर्माण गर्नुभएका मूर्तिकला विश्वका ५५ भन्दा बढी राष्ट्रमा पुगेका छन्। नेपालका विभिन्न सङ्ग्रहालय, मठमन्दिर तथा अन्य स्थानमा समेत उहाँका सिर्जना प्रदर्शित छन्।
वरिष्ठ मूर्तिकार कुमालेले ८१ वर्षको उमेरदेखि तीन वर्ष लगाएर निर्माण गर्नुभएको मूर्ति हाल पाटन सङ्ग्रहालयमा प्रदर्शित छ। उहाँलाई मूर्तिकलाको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुभएको योगदानको कदर गर्दै गत वर्ष पाटन सङ्ग्रहालय विकास समितिले सम्मान गरेको थियो।
स्वर्गीय कुमालेले आफ्नो पुर्ख्यौली ‘कुम्हाः’ अर्थात् माटोका भाँडा बनाउने पेसालाई परिमार्जन गर्दै धातुको मूर्तिकलामा रूपान्तरण गर्नुभएको थियो। उहाँले आफूले सिकेको सीप छोरा तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्दै मूर्तिकलाको परम्परालाई निरन्तरता दिनुभएको थियो।
यसैबीच, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वरिष्ठ मूर्तिकार कुमालेको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ। उहाँले कुमालेको पार्थिव शरीरलाई महानगरपालिकाले सम्मानसहित अन्त्येष्टि गर्ने जानकारी दिनुभयो।

