उद्योग मन्त्री भट्टलाई ज्यान मार्ने धम्की



काठमाडौ,साउन १५ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यहीँ टाउको काट्ने भन्दै धम्की दिएको मन्त्री भट्टले बताएका हुन् ।

संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेसबारे बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले मान्छेले नेटवर्किङ बिजनेसबारे पनि एमसीसीबारे झैँ नबुझी टिप्पणी गरेको समेत बताएका छन्।

मन्त्री भट्टले अहिलेको नेटवर्किङ व्यवसायमा ठगी गर्ने सम्भावना नरहेको दाबी गरेका छन् । हालै नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानून कार्यान्वयन गरिएको छ । मन्त्री भट्टले उक्त कानुन वि .सं २०७४ मा बनेको र अहिले कार्यान्वयन मात्र गरेको बताए ।

केही वर्षअघि नेपालमा नेटवर्किङ व्यवसायलाई अवैधानिक भन्दै बन्द गराइएको थियो । अब यसलाई पुनः घुस खाएर कानूनी मान्यता दिन लागेको भन्दै बहस उठेको छ ।

प्रतिक्रिया दिनुहोस्