अटो दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु, उद्धार जारी



बझाङ,कात्तिक २० । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई दुर्घटना भएको हो। अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको छ।

अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धारमा जुटेको थियो।

जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको छ। घटनास्थलको बीच भिरमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको अटो तथा अन्य सवार व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्